गृहपृष्ठ

कस्तो होला त्यो, केटाकेटी रमाउने सहर?

कल्पना गर्नुहोस्, तपाईं दस वर्षको हुनुहुन्छ। मध्यवर्गीय सहरमा बस्नुहुन्छ। र, आफ्नो साथीसँग भेट्न चाहनुहुन्छ।

साथीको घर हिँडेर ५ मिनेटमा पुगिन्छ। जान भने सक्नुहुन्न।

किन?

तपाईं र साथीको घरबीच वारपार फिँजारिएको खतरनाक सडक पर्खाल बनेर उभिएको छ।

साथीको घर जान मात्र होइन, नजिकै पार्क जान पनि यस्तै फराक र जोखिमपूर्ण सडक पार गर्नुपर्छ।

तपाईं आमाबाबु वा आफूभन्दा ठूलालाई साथीको घर वा पार्कसम्म पुर्याइदिन भन्नुहुन्छ। उनीहरू मान्दैनन्। तपाईंलाई त्यहाँसम्म पुर्याइदिने समय उनीहरूसँग छैन।

अब तपाईं के गर्नुहुन्छ?

सायद इन्टरनेट खोलेर सामाजिक सञ्जालमा झुन्डिनुहुन्छ। वा, सोफामा बसेर भिडियो गेम खेल्न थाल्नुहुन्छ। दुवै नभए घरका चार भित्तामा घोरिएर एक्लै धुम्धुम्ती बस्नुहुन्छ।

यसले बाहिर खुला वातावरणमा जाने समय गुम्यो। शरीरले व्यायाम पाएन। छिमेकीसँग कुराकानी भएन। साथीसँग जिस्कँदै, उफ्रँदै, हाँस्दै खेल्न पाइएन।

यी सबै केटाकेटीका निम्ति घातक अवस्था हुन्।

यो कल्पना मात्र होइन, मध्यवर्गीय सहरका अधिकांश केटाकेटीको वास्तविकता हो।

हामीले सहर बनाउँदा केटाकेटी रमाउने वातावरण बनाएका भए यी कुनै समस्या आउने थिएनन्।

‘केटाकेटी रमाउने सहर भनेको यस्तो हो, जहाँ उनीहरुलाई हरेक दिन स्वतन्त्रता हुन्छ,’ केटाकेटी हुर्काइमा सहरले पार्ने प्रभाव’bout अध्ययन गर्दै आएका टिम गिलले भने, ‘यस्तो स्वतन्त्रता, जहाँ केटाकेटीले पखेटा फिँजाएर हुर्किन पाऊन्।’

‘यस्तो सहर बनाउन हामीले खेल मैदान र सुन्दर खुला सार्वजनिक स्थान’bout मात्र छलफल गरेर पुग्दैन। उनीहरू आफैं जान सक्दैनन् भने त्यसको महत्व रहँदैन। केटाकेटी रमाउने सहर परिकल्पना गर्दा हामीले त्यस्ता ठाउँसम्म उनीहरू आफैं पुग्नसक्ने वातावरण बनाउनुपर्छ।’

के हामीले आफ्नो सहरमा केटाकेटी रमाउने यस्तै वातावरण दिन सकेका छौं त?

हाम्रो सहरी योजना कार, घर र अर्थतन्त्रमा मात्र केन्द्रित हुनु ठूलो गल्ती भएको गिल बताउँछन्। सहरी योजना बनाउँदा केटाकेटी हुर्कन चाहिने वातावरण, उनीहरुको स्वास्थ्य र गुणस्तरीय जीवन’bout ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘कुनै पनि सहरी विकास योजनाविद्ले यी कुरा होइन भन्न सक्दैन,’ उनले भने, ‘नीति निर्माताहरू यो बुझ्दैनन्। छोटो कार्यकाललाई नियुक्त अधिकारीहरूले दुई–चार वर्षपछिका समस्या हेर्नै पर्दैन। आफूले झेल्नु नपर्ने विषयमा आँखा चिम्लिने नियतिका कारण समस्या आएको हो।’

वातावरण र सहरी विकाससम्बन्धी परामर्श दिने संस्था ‘अरुप’ ले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार पूर्ण र विकासोन्मुख सहरी क्षेत्रका केटाकेटीले मुख्यतया पाँच चुनौती सामना गर्नुपर्छ।

  • ट्राफिक र प्रदूषण
  • अग्ला घरमा बसोबास र उच्च जनघनत्व
  • अपराध, सामाजिक डर र अपहेलित हुने सम्भावना
  • एक्लोपना
  • सहरमा अपर्याप्त र असमान पहुँच

खुला, स्वतन्त्र र प्राकृतिक वातावरणमा हुर्किन पाउनु हाम्रा नानीबाबुको अधिकार हो। यो अधिकार सुनिश्चित गर्न विश्वका केही सहरले प्रयास थालेका छन्। आफ्ना केटाकेटी निम्ति मानसिक, सामाजिक र शारीरिक रूपमै सुन्दर सहर बनाउने काममा केही सहर धेरै अघि बढिसके।

यो प्रयासमा कतिपय समुदाय र सरकारले होस्टेहैंसे मिलाएका छन्। कतिपय समुदाय आफैं अग्रसर छन्। केटाकेटीले स्कुल, पार्क, खेलमैदान आउजाउ गर्दा पार गर्नुपर्ने जोखिमपूर्ण बाटामा विभिन्न रङ लगाएर र रूख रोपेर संकेत राखिएका छन्। घर र छिमेक पनि केटाकेटीमैत्री हुनुपर्ने नयाँ नीति बनाइँदै छ।

अल्बानियाको राजधानी टिरानामा यस्तै प्रयास भइरहेको छ।

‘केटाकेटीको शक्ति नजरअन्दाज गर्नुहुँदैन,’ टिरानाका युवा मेयर इरियन भेलियाज भन्छन्। उनी खासगरी सहरका अभिभावकलाई उत्प्रेरित गराउन यो कुरा सुनाउँछन्।

भेलियाजले आफू मेयर भएपछि सहरमा एक सर्भे गराएका थिए। सर्भेमा अधिकांश अभिभावकले आफ्ना बालबच्चासँग भन्दा बढी समय कारमा बिताउने गरेको नतिजा देखियो। यस आधारमा सहरका केटाकेटी कसरी आफ्ना आमाबाबुबाट टाढिँदै छन् भन्ने उनले आकलन गरे। त्यसपछि आमाबाबुको प्राथमिकता के हो भन्ने सम्झाउन उनले प्रयास थालेका हुन्।

टिराना सहरको पार्कमा केटाकेटी आफ्नो जन्मदिनमा रुख रोप्दै। तस्बिरः दी गार्डियन

समुन्नत सहरको आफ्नो तरिका होला, तर आर्थिक अवस्था खासै बलियो नभएको टिराना यो प्रयासमा चुकेको छैन। खुला क्षेत्र निम्ति तत्काल उपयुक्त स्थान नभेटिँदा यहाँ जेललाई नै सुन्दर खुला क्षेत्र बनाइएको छ। समुदाय र निजी क्षेत्रको सहकार्यमा केटाकेटी निम्ति थप दस ठाउँ विकास गरिँदैछ।

स्थानीयलाई पायक पर्ने ‘स्यान्डरवग स्क्वायर’ लाई कारमुक्त क्षेत्र बनाइएको छ। हरेक तीन महिनामा कुनै एक सडक पैदलयात्रुमैत्री बनाइने गरेको छ। सहरको केन्द्रीय भाग पूर्णतया कारमुक्त नभएसम्म यो क्रम जारी रहनेछ। यसले सुरूआतमै यहाँको प्रदूषण १५ प्रतिशत घटेको छ।

कारलाई समृद्धिको सूचक मान्ने कुनै पनि सहरमा यस्तो परिवर्तन सहज छैन। टिरानामा पनि यो अभियानमा धेरै बाधा आए। यहाँको मानवनिर्मित ताललाई खेल मैदान बनाउँदा धेरै विरोध भयो। कतिपय विरोध हिंसात्मक पनि भए।

‘समाजका हर्ताकर्ता र आवाज उठाउन सक्नेले धेरै विरोध गर्छन्,’ मेयर भेलियाज भन्छन्, ‘हामीले थालेको काम सकुञ्जेल शान्त बस्नेहरूको समर्थनमा विश्वास गर्न सक्नुपर्छ।’

टिरानामा भने भेलियाजको विश्वासले जित्यो।

उनले मेयर भएको पहिलो वर्षमै गैरकानुनी रूपमा विस्तार भइरहेको ४० हजार वर्गमिटर क्षेत्र अधिनमा लिए। यी स्थानमा ३१ वटा नयाँ खेलमैदान र पार्क बनाउँदै छन्।

यहाँ सहरको वन क्षेत्र केटाकेटीले आफ्नो जन्मदिनमा रोपेका रूखबिरूवाले भरिएको छ। केटाकेटी निम्ति तोकिएका ठाउँमा उनीहरूका परिवारले रूखबिरूवा रोपिदिन्छन्।

‘अरू देशहरू सिमेन्ट र फलामका ठूल्ठूला पर्खाल बनाउने कुरा गर्छन्। हामी यहाँ सहरलाई सास फेर्ने ठाउँ दिन रूखबिरूवाको पर्खाल बनाउँदैछौं,’ भेलियाजले भने।

उनका अनुसार ६० प्रतिशत बिरूवा व्यक्तिगत र व्यावसायिक क्षेत्रबाट उपलब्ध हुँदै आएका छन्। कार कम्पनीले दुईवटा बिरूवा दिनुपर्छ।

टिराना सहरमा पैदलयात्रा, साइकल चलाउने र सार्वजनिक यातायातमा जोड दिने काम पनि भइरहेका छन्।

यहाँ केटाकेटी निम्ति अलग्गै सुविधा छ। केटाकेटीका प्रतिनिधिले सिधै मेयरसँग भेटेर आफ्ना कुरा राख्न र छलफल गर्न सक्छन्। स्कुल जान-आउन सहज उपाय मेयरलाई सुझाउन सक्छन्।

‘केटाकेटीको सबभन्दा राम्रो पक्ष भनेको उनीहरूको प्रस्ताव र योजनामा कुनै लुप्त एजेन्डा हुँदैन। आफ्ना अभिभावकलाई साइकल चलाएर वा हिँडेर स्कुल आउजाउ निम्ति अभिप्रेरित गर्न उनीहरूले बलियो वकालत गर्छन्,’ भेलियाजले भने।

नेदरल्यान्डस्को रोटरड्यामः

रोटरड्यामले सन् २००६ देखि सहर सुन्दर बनाउने अभियान थालेको हो। त्यसयता सार्वजनिक स्थान र आवास तरिका सुधार तथा सुरक्षित ट्राफिक रुट व्यवस्था गर्न करिब २० करोड रूपैयाँ खर्चिसकेको छ। आर्थिक अवस्था कमजोर भएका समुदायमा सुरु यो अभियानको उद्देश्य ती क्षेत्रमा केटाकेटी रमाउने वातावरण बनाउनु हो।

पार्कको वनमा भएको खुला क्षेत्रलाई प्राकृतिक खेल मैदान बनाइएको छ। यहाँ केटाकेटी कुनै नियममा नबाँधिइकन खेल्न सक्छन्। वनको जैविक विविधतासँग रमाउन सक्छन्। गुफा बनाउन सक्छन्। र्याफ्टिङ गर्न सक्छन्। आगो बालेर क्याम्पिङ गर्न सक्छन्। यही प्रयोजनका लागि यहाँ अचेल वार्षिक ३५ हजार मान्छे आउँछन्।

रोटरड्याममा खुला स्थानमा पिकनिक मनाउँदै केटाकेटी। तस्बिरः दी गार्डियन

कुनै स्कुलका अतिरिक्त खेलमैदानलाई पनि समुदायिक क्षेत्र बनाइएको छ। यहाँ केटाकेटीले बागबानी र खेलकुदमा भाग लिन सक्छन्। यसको उद्देश्य स–साना नानीबाबुलाई ठूलो समुदायभित्र हुर्किने अनुभव दिनु हो।

रोटरड्याम पहिल्यैदेखि सवारी घन्चमन्च र घरले भरिएको सहर हो। यसलाई कम गर्न स्थानीय निम्ति छुट्टै योजना ल्याइएको छ। सयौं परिवार निम्ति मध्यसहर आसपास प्रशस्त हरियाली, खुला मैदान र दुई उत्कृष्ट स्कुल व्यवस्था गरिँदैछ।

त्यस्तै, समुदायमा ‘सपनाका बाटा’ कार्यक्रम सञ्चालन गरिएको छ। यसमा स्थानीयले सडक सुधार, ट्राफिक मुक्त, कार पार्किङ स्थान, तरकारी मण्डी र सार्वजनिक रुपमा आराम गर्ने ठाउँ डिजाइन गर्न र प्रस्ताव राख्न सक्नेछन्। यसले रोटरड्याममा सुधारका संकेत दिइसकेको छ।

कोलम्बियाको राजधानी बोगाटाः

‘केटाकेटी भनेका समाजका सूचक हुन्। हामीले केटाकेटी रमाउने सहर सफल बनाउन सक्यौं भने, त्यो सिंगो समाजकै निम्ति सफल सहर बन्नेछ,’ बोगाटाका पूर्व मेयर इनरिक पेनालोसाले भनेका छन्।

बोगाटालाई जनताको सहर बनाउने अभियान सुरु भएको बीस वर्ष भयो। यो अभियान पेनालोसाकै सपना हो। ठूल्ठूला सार्वजनिक बसको गति बढाउने, साइकल लेन बनाउने र १२ सय वटा पार्क तथा खेल मैदान बनाउने उनको योजना थियो।

यसैको प्रयासस्वरूप सहरको गरिब समुदायमा खुला क्षेत्र विस्तारको काम भयो। अपराध धेरै हुने र कम हरियाली भएको समुदाय पहिचान गरियो। स्थानीयले ती समस्या कसरी सामाधान गर्न चाहन्छन् भन्ने जानकारी लिइयो।

यही आधारमा त्यहाँका किन्डरगार्डेन, स्कुल र पार्कका रूट छुट्टयाउन सडकमा पेन्टिङ गरियो। रुख रोपियो। घरहरूमा चहकिला–उज्याला रङ लगाइयो। सहरी विकासलाई विवेकपूर्ण तरिकाले अगाडि बढाउने योजनाको अभ्यास थियो यो। सफल भएको खण्डमा यही योजना दीर्घकालीन हुनेछ।

बोगाटामा स्कुल, खेलमैदान, पार्क आसपासका सडकमा पेन्टिङ गर्दै केटाकेटी। तस्बिरः दी गार्डियन

यस्ता योजना लागू गर्न सम्बन्धित समुदायलाई नै सहभागी गराइयो। योजनाअनुरुपका काम समुदायले आफैं गर्नुपर्ने नियम बनाइयो। नगर्नेहरुलाई सहरले कुनै पनि सेवासुविधा नदिने सर्त राखियो। यसले स्थानीय आफैं सहर समृद्ध बनाउने अभियानमा सरिक भए।

जस्तो- केबल कार चलाउने एक कम्पनीलाई उसको रोक्ने ठाउँमा सुधार गर्न लगाइएको छ। यी सुधारमा आमाले बच्चालाई दूध खुवाउने, खेल्ने र वृद्धहरूका निम्ति ठाउँ बनाउनुपर्नेछ। कम्पनीले सहरको ‘बिआरटी’ सेवा पनि सञ्चालन गर्छ। उसले केबल कार यात्रामा जस्तै सुविधा बस सेवामा दिने तयारी भइरहेको छ।

केन्टकीको लेक्सिङटनः

गर्मी याममा लेक्सिङटनको तापक्रम २७ डिग्री सेल्यिसभन्दा बढी हुन्छ। यहाँका बासिन्दा पार्कमा रहेको पानीको फोहोरमा रमाउँछन्। यसो गर्न बन्देज भए पनि कारबाही गरिएको छैन। बरू सहर परिषद्ले उनीहरूका कुरा सुन्ने निर्णय गरेको छ।

तीन वर्षअघि लेक्सिङटनमा एक सर्भे गरिएको थियो। स्थानीयले गर्मीमा पानी र खेल्ने ठाउँ भएको परिवारमैत्री खुला क्षेत्र आवश्यक रहेको बताएका थिए। उनीहरूको माग सम्बोधन गर्दै नजिकै अर्को पार्कसँगै रहेको घाँसेमैदानमा पानीका फोहोरा निर्माण गरियो। पिकनिक टेबल, बलौटे किनारमा छाता, लुगा फेर्ने कोठा, चर्पी र अपांगतामैत्री र्याम्प पनि बनाइएका छन्।

लेक्सिङटनको एक पार्कमा बनाइएको पानी फोहोरामा रमाउँदै केटाकेटी। तस्बिरः दी गार्डियन

यसको नतिजा एकदमै सन्तोषजनक रह्यो।

सहरभरका मान्छे खानेकुरा लिएर आउन थाले। पानीमा नाच्न र रमाउन थाले। अभिभावकहरु छातामुनि बसेर आफ्ना केटाकेटी हाँस्दै, कुद्दै खेलेको हेर्न थाले। कहिले पार्क नआएकालाई यहाँ आउने कारण मिल्यो। मान्छेले आफ्ना साथीभाइ र छिमेकी भेटे। कुराकानी गरे। खुला ठाउँमा सास फेरे।

पार्कमा आउने ८० प्रतिशत मान्छे नयाँ छन्। पानी फोहोरासहितको पार्क बन्नुअघि यहाँ चार–पाँच ब्लकका मान्छे मात्र आउँथे। अहिले सहरको कुनाकाप्चाबाट आउँछन्। सहरका अरू पार्क पनि यस्तै बनाउने योजना छ।

क्यानडा, ब्रिटिस कोलम्बियाको भ्यानकोभरः

भ्यानकोभर सहरले पनि सन् १९९० दशकमा परिवार–साथीभाइमैत्री आवासीय योजना सुरु गरेको थियो।

तीव्र गतिमा बढेको आवास प्रणाली व्यवस्थापन गर्न घरहरू होचा बनाउनुपर्ने भयो। प्राकृतिक उज्यालो छिर्ने र विशेषगरी केटाकेटीलाई पानी र बालुवामा खेल्ने वातावरण बनाउनुपर्ने नियम लगाइयो। विकास निर्माणका काम भने स्कुल, बालबच्चा हेरचाह केन्द्र, खाद्यान्न पसल क्षेत्रभन्दा कम्तिमा आधा माइल टाढा हुनुपर्ने र सुरक्षित पैदलमार्ग बनाउनुपर्ने मापदण्ड तय भयो।

फलस्वरुप, यहाँ बस्ने केटाकेटीको संख्या दस वर्षमा दोब्बर भयो।

पछिल्लो वर्ष यहाँको लोकप्रिय ‘क्रिकसाइड पार्क’ मा धेरै लगानी गरी भ्यानकोभरकै ठूलो खेलमैदान बनाइएको छ। यहाँ वाद्यवादनका साधनदेखि चढ्न मिल्ने टावर, विशाल चिप्लेटीसम्म छन्। पानी र बालुवामा खेल्ने सुविधा प्रशस्तै छन्।

आवास योजना पछिको भ्यानकोभर सहरको एक समुदायमा रमाउँदै केटाकेटी। तस्बिरः दी गार्डियन

यी सहरका केटाकेटीलाई साथी भेट्न जान सकस हुँदैन। सँगै उफ्रिँदै, दुगुर्दै खेल्न सडकले छेक्दैन। घरभित्रै एक्लै गुम्सिएर इन्टरनेटमा झुन्डिनुपर्ने बाध्यता छैन।

केटाकेटी हुर्काइमा सहरले पार्ने प्रभाव’bout अध्ययन गर्दै आएका टिम गिलले भनेजस्तै यी सहरले केटाकेटीलाई पखेटा फिँजाएर हुर्किने अवसर दिँदैछन्।

अरू सहरले कहिले थाल्ने?

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ