खेलकुद गृहपृष्ठ

एकदिवसीय मान्यता पाए नेपाललाई के फाइदा त !!

विश्वकप क्रिकेट छनोटको बिहीबार भएको प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै नेपाल एकदिवसीय क्रिकेटको मान्यता नजिक पुगेको छ।

जिम्बाव्वेको हरारेमा सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल खेल्नुअगावै २३ औं ओभरमा सजिलै विजय प्राप्त गरेको हो।

सुपर सिक्सभित्र नपरेका राष्ट्रबीच भइरहेको प्लेअफमा नेदरल्याण्ड्स र हङकङको खेलको नतिजाले नेपालले मान्यता पाउने वा नपाउने तय गर्नेछ।

यदि आज हङकङ नेदरल्याण्ड्ससँग पराजित भएमा उत्कृष्ट आठ स्थानभित्र परेर नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

हङकङले जितेको खण्डमा नेपाल र हङकङबीच शनिबार हुने खेलको विजेताले उक्त मान्यता पाउनेछ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुनेछ।

आज नेपालसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई जितेमा दुई टोलीबीच शनिबार सातौँ स्थानको लागि खेल हुनेछ। तर आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएकोले नेदरल्याण्ड्सलाई एकदिवसीय मान्यता दिइसकेको छ। त्यसैले शनिबार हुने खेलमा हारे पनि नेपालको एक दिवसीय मान्यताको बाटो छेकिने छैन।

त्यो अवस्थामा एसोसिएट दुई राष्ट्र हङकङ र पपुवा न्यूगिनीले भने नवौँ र दशौँ स्थानको लागि खेल्नेछन्।

यदि आज हङकङले पनि जितेमा नेपाल र हङकङबीच सातौं र आठौँ स्थानका लागि खेल हुनेछ। त्यस खेलमा एकदिवसीय मान्यता पाउन नेपालले हङकङलाई पराजित गर्नैपर्ने हुन्छ।

जारी प्रतियोगिताबाट दुई एसोसिएट टोली स्कटल्याण्ड र युएईले सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गरिसकेका छन्।

बाँकी रहेको नेपाल र हङकङमध्ये एकले त्यो मौका पाउनेछ्न्। नेपालसँग आज पराजित भइसकेको पपुवा न्यूगिनी त्यो सम्भावनाबाट बाहिरिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *