गृहपृष्ठ मनोरञ्जन

विपश्यना ध्यानप्रति आकर्षित हुँदै !!

आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ।

शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२‍औँ पटकसम्म विपश्यना ध्यान केन्द्र धर्मश्रृङ्ग धाउन उमेरले रोक्न सकेन।

मौन व्रत लिएर दैनिक १७ घण्टासम्म ध्यान गर्नुपर्ने दशदिने यो कठिन साधनामा जान उमेरले साथ दिँदैन भनेर घरपरिवार र छिमेकीले सुझाए पनि ८२ वर्षीय धनबहादुरले बूढानिलकण्ठस्थित धर्मश्रृङ्ग गएर पछिल्लोचोटि सम्पन्न सो शिविरमा साधक बने। मनग्य भोजन र निद्रा नपाइने भएकाले विपश्यना ध्यान सबैका लागि दुष्करै हुन्छ।

उमेरले डाँडो काटे पनि र आधा घण्टासम्म उभिन कठिन भए पनि स्वस्थ र चम्किलो अनुहार देख्दा र कुरा सुन्दा लाग्छ उनी विपश्यनाकै कारण निरोगी भएका हुन्।

प्रायः एकादशी, शिवरात्रिलगायतका पर्वमा पशुपति गएर महादेवको दर्शन गरी सेलरोटीको प्रसाद खानुपर्ने बानी भएका धनबहादुर जीवनको उत्तरार्धतिर विपश्यनाबाटै प्रभावित भए र अहिले उनी बुद्धका अनुयायीका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन्।

चार पटकसम्म विभिन्न चरणका विपश्यना ध्यान बसेका अमेरिकाको टेक्सस राज्यका भिक्षु यु सारियाले पनि भगवान् बुद्धको जन्मभूमि नेपालमा आएर एकपटक विपश्यना ध्यान शिविर बस्ने आफ्नो लालसा मेटे र ध्यान बसेर आनन्दविभोर भए।

अमेरिका प्रवेश गरेका थाइल्यान्डका शरणार्थीलाई सहयोग गर्दैआएको एक गैरसरकारी संस्थामा कुनै बेला काम गरेका उनले ती शरणार्थीले बनाएको बौद्ध मन्दिर र उनीहरूको जीवनशैलीबाट प्रभावित भएर आफूमा बौद्ध भिक्षु बन्ने सोच पलाएको बताए।

त्यस्तै, परिवारलाई समेत कुनै जानकारी नदिई दुई वर्षअघि श्रीलंका पुगेर भिक्षु भएका २६ वर्षीय जापानी भिक्षु दाइकी नेपालमा विपश्यना ध्यान शिविर चल्ने गर्छ भन्ने सुनेर पहिलो पटक नेपाल आएको र शिविरमा बस्न पाएर आफू धेरै नै खुशी भएको बताए।

आफ्नो बाटो आफैंले रोज्नुपर्छ भन्ने मान्यता राख्ने उनी भन्छन्, ‘विपश्यनाबाट धेरै समस्या समाधान गर्न सकिने रहेछ। त्यसकारण यसबारे कुरा मात्र गर्नुभन्दा निरन्तर अभ्यास गर्नु राम्रो हुन्छ।’

के हिन्दू, के बौद्ध, के मुस्लिम, के जैन, के शिख, के इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिको हिजोआज यसप्रति आकर्षण बढ्न थालेको छ। श्रीलंका, म्यानमार, थाइल्यान्ड, अमेरिका, इजराइल लगायतका मुलुकमा समेत विपश्यनाका विभिन्न चरणका ध्यान शिविर सञ्चालन हुँदै आएका छन्। भगवान् बुद्धको जन्मभूमि भएकैले होला नेपालको बूढानिलकण्ठस्थित धर्मश्रृङ्गलगायतका स्थानमा विश्वभरबाट थुप्रै विपश्यना साधकहरू ध्यान गर्न आइरहेका हुन्छन्।

चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवा वा पाका व्यक्तिका लागि मात्र हैन बालबालिकाका लागि समेत छुट्टै विशेष ध्यान शिविर सञ्चालन भइआएका छन्।

विश्वमा धर्म कै नाममा बेलाबखत सामाजिक विग्रह र द्वन्द्व निम्तिएर युद्ध जस्ता विध्वंशकारी घटना भइआइएकाले त्यसबाट विरक्तिएका मानिसमा सत्मार्गको खोजी लागेका हुन्छन्।

भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वजनिन हुन्छ। प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो। यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन। सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु। यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन्।

सबै ठाउँ, सबै काल र सबैका लागि धर्म समानरूपले कल्याणकारी हुन्छ। तर धर्मका नाममा गरिने क्रियाकलापले हिजोआज विशुद्ध लोककल्याणकारी काममा भन्दा पनि साम्प्रदायिकता र रीतिरिवाजका रूप प्रकट भइआएको पाइन्छ। विपश्यना आजभन्दा करीब दुईहजार ५०० वर्षअघि बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो। यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ।

जुन जस्तो छ त्यसलाई साक्षी भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो। शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना। ध्यान शिविर चलिरहँदा कुनै धर्मको वकालत गरिँदैन र ध्यान सिकाउने आचार्यहरूले कुनै कुरामा पनि आशक्ति नजगाउन निर्देशन दिइरहेका हुन्छन्।

विपश्यना ध्यान गर्न चाहने साधकलाई झूटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता नियमभित्र रहेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रीत गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ। साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछ।

बाँकी साढे छ दिन विपश्यना अभ्यास गर्दै अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउन लगाइन्छ। यस क्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन्। दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरूपमा मौन बस्नुपर्ने नियम छ र दशौँ दिन मात्र साधकलाई बोल्न अनुमति दिइन्छ।

पुराना साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन्।

नेपाललगायत विश्वका कुनैपनि देशमा सञ्चालित यस्ता शिविरमा शुल्क लिइँदैन। साधकको स्वेच्छाको दानबाट मात्रै यस्ता शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ।रासस

source: setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *